मोहभङ्ग

0    कथा  admin

– माधव सयपत्री

म मूढजस्तो बनेको शरीरलाई ओछ्यानमा यताउता पल्टाइरहेको थिएँ । शरीर जीर्णजीर्ण बन्दैथियो । औषधिले समेत काम गर्न छाडेको थियो । छोराछोरी हुर्काएर मर्ने मेरो इच्छा मर्दैमर्दै गएको थियो । ओछ्यानले पनि रिस गर्न थालेको थियो । त्यसैले त होला नि बिझाएको ! श्रीमतीले पनि त्यति वास्ता गर्न छाडेकी थिइन् । तिनको झर्कोफर्को र कर्कश निकै बडेको थियो । मेरो कति स्याहारसुसार गरून् ! मलाई रुङ्न नपरे तिनी ढुक्कले खेतपानी र वस्तुभाउ गर्दी हुन् । त्यतिखेर कमरेडहरूले मलाई लैजान ठूलै प्रयास गरेका थिए । छापामारदस्तामा लागेको भए मरे पनि सहिद हुइन्थ्यो । बचाइँ अर्थपूर्ण हुन्थ्यो । पार्टी र राज्यले सम्मान गथ्र्यो । परिवारले राहत पाउँथे । 
छिमेकीहरू पनि मेरोमा आउन छाडेका थिए । ‘यो सधैँको थाङ्ने बिरामी त हो नि’ भनेर होला । छापामार नबन्नुको पीडाले मलाई पोलिरहेको थियो । किन गइन हुँला ? पश्चातापले मलाई खङ्गार्दै थियो । थुक्क मेरो बुद्धि ! मलाई थाह थियो –भूमिगत पार्टीमा लाग्दा खतरा मोल्नुपरे पनि आत्मसन्तुष्टि मिल्छ । कमरेड क्यास्त्रो, चे ग्वेभारा, गोञ्जालोको आत्मसंस्मरण पढ्दा युद्धभन्दा उत्तम बाटो अरू छैनजस्तो लागेको थियो । देश र जनताको लागि मर्न पाएको भए मेरो पनि सालिक बन्थ्यो होला ।
सुनेथेँ, सल्लेरीको लडाईंमा सहादती हुनेहरूको सालिक बन्ने भएको छ रे ! त्यो लहरमा मेरो पनि जिउँदोजाग्दो सालिक ठडिन्थ्यो होला । मेरो घाँटीमा माला पहिर्याइन्थे होलान् । मेरो परिवार सहिद परिवार हुन्थ्यो । थाङ्निएर मर्दा कस्ले वास्ता गर्ने ! ‘सधैँको रोगी थियो, मरेछ । दुखै बिसाएछ, जानुपर्ने गएछ । परिवारलाई पनि सञ्चै भयो ।’ यस्तै सोचे होलान् गाउँहरूले ।
सन्तानब्बे सालका सहिदको कत्रो मान सम्मान छ । उनीहरू मान्छेका अन्तर्आत्माभित्र बाँचिरहेका छन् । यता म जिउँदै मर्दै थिएँ । कमरेड इशानले मलाई दुईदिन फकाएका थिए । गलाउन प्रयास गरेपनि म गल्दैगलिनँ । ‘शत्रुको चौगिर्दमा को छिर्छ ! न भनेको बेलामा खान पाउनु न सुत्न ।’ छापामार देखेपछि गाउँलेहरू पनि तर्केर हिँड्थे ।
इशानले मलाई आश्वासन दिँदै भनेका थिए, ‘सर, हाम्रो गौरवशाली युद्धदस्तालाई तपाईंजस्ता विचारशील मान्छेको खाँचो छ । परिवारको जिम्मा पाटीले लिन्छ, होलटाइमर भएर हिँड्नुस् । उपचार पनि पार्टीले नै गरिदिन्छ । हामीलाई तपाईंले डोर्याउनुपर्छ सर !’
मैले ठाडै ‘हुन्न’ भन्न सकिनँ । इशानको अनुनयलाई बल्लबल्ल टारँे । उनले हस्तक्षेपै गरेपछि भनिदिएँ, ‘तिमी ढिपी नगर । खुरक्क जाऊ । तिमी आफ्नो बाटो हिँड, म आफ्नो बाटो हिँड्छु ।’
इशानले सल्लेरीको दोहोर भिडन्तमा सहादत प्राप्त गरे । पार्टीले सम्मान गरी उनको सालिक निर्माण गर्ने भयो । बाटो हिँड्नेहरू अब सालिकअगाडि पुगेपछि नतमस्तक हुँदै श्रद्धा अर्पनेछन् ।
मलाई रोगले च्याप्दैलग्यो । देश सेप्m ल्यान्डिङ्गतिर लाग्यो । छिट्टै यस्तो परिवर्तन आउँछ भनेर सोचेको पनि थिइनँ । इशानको सहधर्मिणी मृदुला मलाई हेर्न आउँदा उनले भनेका चोटिला कुराले म शतचूर्ण भएको थिएँ । अहो ! कति साहसी महिला ! श्रीमान्को मृत्युको पीडालाई कसरी लुकाउन सकेकी ! उनले भनेकी थिइन्, ‘दाइ, उतिबेला हाम्रो गौरवशाली जनयुद्धलाई नजरअन्दाज गर्नुभो । त्यतिबेलै युद्धमा लागेको भए तपाईंको उपचार पार्टीले गथ्र्यो । अब हामीले सिफारिस गर्ने कुरा भएन ।’
‘मृदुला ! पति विछोडको पीडालाई हृदयको कुन कुनामा केले छोपेर राखेकी छ्यौ ? आइमाईलाई कमजोर सम्झन्थेँ । अहँ, होइन रहेछ । उनी इशानभन्दा पनि आँटिली रहिछन् ।’ इशानकी रक्तकणिका सानी छोरीको सुन्दर अनुहारमा म इशान देख्थेँ । छुट्नेबेला मृदुलाले भनिन्, ‘दाइ, श्रीमान्को वीरगतिले मलाई झन् कठोर बनाएको छ । समयले घाउको खाटा पुर्दैल्याएको छ । अहिले त मलाई कमरेड इशान मेरै साथमा हुनुहुन्छ जस्तो लाग्छ । दाइ, तपाईं छिटै निको हुनुस् । मेरो शीध्र स्वास्थ्यलाभको कामना । युद्धमा नहिँडेपनि तपाईं हाम्रै मान्छे हुनुहुन्छ ।’
मैले निरास भएर भने, ‘बैनी मृदुला, पार्टीको युद्धमोर्चामा सरिक हुन सकिनँ । तपाईं र इशानले भनेको मानिनँ । मेरो शरीर गल्दैगएको छ । धेरै दिन बाँच्दिनँ होला । विजयको शुभकामना ।’ मैले यसो भन्दा मृदुलाको अनुहार मलिन भएको थियो । हामीबिच एकछिन मौनता छायो । मृदुलाले मसित बिदा मागिन्, ‘दाइ, म तपाईंलाई हेर्न आएकी । सहिदहरूको सालिक निर्माणबारे मिटिङ्ग हँुदैछ । छिट्टै पुग्नुछ । सक्नुहुन्छ भने जाऊँ ।’ मैले भने, ‘मृदुला, म जान्नँ ।’ उनी हिँडिन् । म उनलाई हेरिरहेँ ।

— — — — — — — — — — — —

हतियार बिसाएर पार्टी शान्ति प्रक्रियामा आयो । नयाँ सरकारमा पार्टी गयो । गैह्रीखेत बेचेर श्रीमतीलाई साथ लिई म उपचारका लागि काठमाण्डु गएँ । मेरो मुटुको उपचार खेत बेचेको पैसाले मात्र सम्भव थिएन । पार्टीमा लागेका गाउँकै साथीहरूलाई सम्पर्क गर्न खोजेँ । तीनचार दिनपछि केही साथीसँग सम्पर्क भयो । विशाल, क्रान्ति, प्रहार, एटम, चट्टान र हुङ्कार अस्पतालमा आए । डाक्टरले रगत, दिसा, पिसाब, खकार परीक्षणका लागि स्याम्पल लिए । परीक्षणको रिपोर्ट आएपछि अस्पताल भर्ना आवश्यक परेमात्र गर्ने भए । केही पत्ता औषधि दिएर तीनपछि मुटुको परीक्षण गर्न बोलाए । अब अस्पतालमा बस्नु आवश्यक थिएन ।
तीन दिन कता गएर बिताउने होला, सोचिरहेको थिएँ । श्रीमती पनि मेरै मुखमा हेरिरहेकी थिई । काठमाण्डुमा खासै नजिकका आफन्त थिएनन् । भए पनि कसलाई दुःख दिनु ! साथीहरूलाई हप्पती भन्न सकिनँ । विशालले सदाशयता देखाएर भन्यो, ‘आज हाम्रोमा जाऊँ न त ।’ क्रान्तिले थप्यो, ‘हैन आज हामीकोमा जाने । हुँदैन त भाउजु ?’ प्रहार झनै आदर गरेर भन्यो, ‘तिमीहरूकोमा भोलिभोलि जानुहुन्छ । आजचैँ म लान्छु ।’ एटम चट्टान र हुङ्कारले पनि कर गरे । कस्कोमा जाने मैले तत्काल निर्णय गर्न सकिनँ । श्रीमतीको अनुहारमा हेरिबसेँ । उनले पनि मेरै मुख ताकिन् । साथीहरू डेरा साँघुरो होला । बिरामी राख्न गाह्रो पनि हुन्छ । पानीको समस्या होला । यस्तै त हो काठमाण्डुको हाल । यी साथी पनि डेरै गरी बसेका छन् । काठमाण्डुमा बाँच्न यिनीहरूलाई कति गाह्रो होला । झन् बिरामी पाहुना लाग्दा कति अप्ठेरो हुन्छ, मलाई पनि थाहा छ ।
विशाले नै जित्यो । त्यो दिन हामी विशालकोमा जाने भयौँ । अरू साथी बिदा भए । विशालले ट्याक्सी बोलायो । गंगालालबाट निस्केर ट्याक्सी चत्रपथ आइपुग्यो । दाँया मोडिएर त्यो चाबेलतिर हुँइकियो । भित्रीबाटो छिरेर ट्याक्सी विशालनगर पुग्यो । हामीलाई चोकमा ओरालेर ट्याक्सी हिँड्यो । विशाल हामीलाई लिएर केहीपर पुग्यो । एउटा भव्य महलको मुलगेट खोल्यो । लाग्यो –विशालले डेरा त राम्रै घरमा लिएको रहेछ । हामीलाई बैठकमा पुर्यायो । बैठककोठाको डेकोरेसन देखेर मलाई सकसक लाग्यो । ‘हैन, विशालले कति पैसा कमाउँछ हँ ? केमा जागिर खान्छ विशाल ?’ भित्रैबाट आएको सकसकीलाई मैले रोक्न सकिनँ । सोधिहालेँ, ‘विशाल, तिमीले त कोठा राम्रो लिएका रहेछौ, कसरी खर्च म्यानेज गरेका छौ हँ ?’ विशालले भन्यो, ‘यो घर मेरै हो सर । भूमिगतकालमा उठाएको चन्दाले किनेको । क्रान्ति, प्रहार, चट्टान, एटम, हुङ्कार सबैले घर बनाएका छन् । तपाईंलाई बेलैमा हामीले भन्दा टेरपुच्छर लाउनुभएन । मौकामा चौका नहाने कहिले कमाउने ! सेनाप्रहरीले भेटेको भए हाम्रा हड्डी मक्किसक्ने थिए । सोझो औंलाले ध्यू कहाँ आउँछ र ! ज्यान हत्केलामा राखेर पार्टीमा लागेको प्रतिफल यै हो । मैले एउटा मास्टरबाट एकलाखसम्म उठाएको थिएँ । खुद्रामसिना चन्दा त कति हो कति ? हामीले धम्क्याउँदै सफायासम्मको कार्वाही गर्ने चिठी पठाएपछि पैसा बुझाउन उनीहरू नै आउँथे । पार्टीलाई चन्दा दिएनन् भनिदियो, टन्टै साफ ।’
म छाँगाबाट एकैचोटि चट्टानमा बजारिँएँ । जनताको मुक्तिका लागि लडेका छापामारहरूको यस्तो करतुत ! भित्रबाट विशालकी श्रीमती आइन् । नमस्ते गरिन् । केटाकेटीले पनि ‘नमस्ते अंकल’ भने ।
गैहालियो, त्यो रात त्यहीं बिताउनु बाध्यता थियो । आठबजेतिर हामीलाई खाना खान बोलाए । मेरी श्रीमती लजाइन् । हामीसँगै भित्र पस्यौँ । विशालको घरको भोजन परिकार देख्दा लाग्यो –ऊ प्रधानमन्त्रीको भोजन गर्छ ।
सुत्ने कोठा देखाइदियो विशालले । भनिसाध्ये छ र ! झकिझकाउ । रातभरि मनमा कुरा खेलिरह्यो । ‘अचम्म ! मनपरि चन्दा उठायो, आपूmखुसी राख्यो । न पार्टीलाई बुझाउनुपर्ने न सरकारलाई चन्दाको कर तिर्नुपर्ने । नेपालीको रगतपसिनाले कति सराप्ला यिनीहरूलाई ?’
भोलिपल्ट झिसमिसेमै उठ्यौँ । त्यहाँ एकमिनेट पनि बस्न मन लागेन । चिया खाएपछि विशाललाई भनिदिएँ, ‘विशाल राम्रो प्रगति गरेछौ । खुसी लाग्यो । अभैm प्रगति होस् । हामी फुपूकी छोरीकोमा जान्छौँ । त्यहाँबाट अस्पताल पनि नजिकै पर्छ । भोलिलाई सजिलो हुन्छ । ल त हामी जान्छौँ है !’
हामी मन भारी पारेर हिँड्यौँ । साम्यवादको लक्ष्य लिएको पार्टीका कार्यकर्ता यति भ्रष्टाचारी ! छापामारप्रतिको मेरो मोह भङ्ग भयो । छापामार नबनेर मैले शतप्रतिशत ठिक गरेँछु । श्रीमतीले मलाई डोर्याएर टेम्पु लाग्ने ठाउँसम्म पुर्याइन् । मेरो मनले हिसाब सोध्यो, ‘पार्टीले देशभरिका कर्मचारी, शिक्षक, व्यापारी र सर्वसाधारणबाट कति अन्नपात र पैसा उठायो होला ? राज्य र विद्रोहीले मारेका नेपालीको ज्यानको मूल्य त केले नै चुकाउन सक्ला र ? ध्वंश भएका विकास संरचनाको के हिसाब ?’ मैले अड्कल गर्न पनि सकिनँ । हामी नारायणगोपाल चोकतिरै लाग्यौँ । आकाश धँमिलिएर रन्चे भएको थियो ।

फुलासी, रामेछाप ।

Source: Samakalin Sahitya

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam