साहित्यकार जगदीश घिमिरेको निधन

साहित्यकार जगदीश घिमिरेको निधन
31 Oct
1:32

मन्थली, कार्तिक १४ – बुधबार राति अनायास मन्थलीस्थित जगदीश घिमिरेको घरनजिकै हाप्सिलो करायो । वरिपरीका बासिन्दाले चिन्ता गरे कहाँ के हुने हो ? हाप्सीलो कराएको अशुभ मान्ने स्थानीयले विहिबार बिहान उज्यालो हुन नपाउँदै क्यान्सरको उपचार गराइरहेका ६८ बर्षीय जगदीश घिमिरेको काठमाण्डौंमा निधन भएको दुःखद खबर पाए ।jagdish-ghimire

आठ बर्षदेखि क्यान्सरले थलिएका घिमिरेको निधन स्वभाविक मान्नेहरु हिजोसम्म धेरै थिए । जब उनको निधनको खबर एकाएक मन्थलीका कुनाकुनामा फैलियो त्यसलाई धेरैले अस्वभाविक माने । उनले छोडेर गएको तामाकोशी सेवा समितिको भवन परिसरमा भेला भएकाहरुको अनुहार निन्याउरा थिए । उनीहरु दुखद् सत्यलाई कष्टसाथ स्वीकार्दै थिए । उनीहरुमध्ये कसैको बोली फुटेको थिएन् । सबैका आँखा टिल्पिलाएका थिए ।

घिमिरेले तीन दशकअघि स्थापना गरेको तामाकोशी सेवा समितिमा भेला भएका सयौंले उनको निधनप्रति गहिरो दुख व्यक्त गर्दै उनको तस्विरमा माल्यापर्ण गरे । शोकपुस्तिकामा हस्ताक्षर गरे । एकैक्षणमा शोकपुस्तिकाका पानाहरु भरिए । ‘एउटा धरोहरले धर्तीबाट विदा लिए’, शोक व्यक्त गर्न समिति आइपुगेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले लेखे ।

‘साहित्यकार एवं समाजसेवी घिमिरेको निधनले रामेछापले एउटा मूर्धन्य व्यक्तिलाई गुमाएको छ’, समाजसेवी रामचन्द्र वियोगीले भने, ‘त्यस्तो असल मानिस अब जिल्लाले पाउँन मुस्किल छ ।

घिमिरेको निधनमा शोक व्यक्त गर्न तामाकोशी सहकारी अस्पतालले आपतकालिन सेवावाहेक अन्य सेवा ५ दिन बन्द गर्ने जनाएको छ । त्यसैगरी, मन्थली बचत तथा ऋण सहकारी संस्थाले समेत संरक्षक गुमाउनु परेकाले ५ दिन सेवा बन्द गर्ने सूचना जारी गरेको छ । संस्थाको हातामा १३ दिनसम्म शोकपुस्तिका राख्ने र १३ औं दिनका दिन श्रद्धाञ्जली सभाको आयोजना गर्ने समितिले जनाएको छ । जिल्लाका अन्य केही गैरसरकारी संस्थाले समेत घिमिरेको निधनमा शोक व्यक्त गर्न बिहीबार आफ्ना कार्यालय बन्द गरेका छन् ।

२००२ सालमा मन्थलीको सम्पन्न परिवारमा जन्मेका घिमिरेले अन्तराष्ट्रियस्तरको जागिर छोडेर रामेछापको कुना र कन्दरामा रहेका हजारौं सर्वसाधारणको दुख र पीडामा सहयोग गरेका थिए । महिनौ पैदल हिडेर उनले नागरिकको पीडालाई प्रत्यक्ष भोगे । सरकारले सेवा दिन नसकेको स्थानमा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, आयआर्जन, बचत, सिंचाई र शौचालयजस्ता अत्यावश्यक योजना निर्माणमा सहयोग गरे । ‘हामीले घिमिरेको गुन तिर्न धेरै समय अझै काम गर्नुछ’, घिमिरेका सामजिक सहयात्री ध्रुवप्रसाद सुवेदीले भने ।

समुदायले चाहेको र लगानी गरेको विकास दीगो हुने घिमिरेको विश्वास थियो । त्यसैले जिल्लाका २५ गाविस भन्दा बढीमा घिमिरेले गरेका सयौं विकास निर्माणको कार्यमा हजारौं रामेछापेली सामेल भएका थिए ।

 

साभार् :  www.ekantipur.com 

 

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam