लण्डन साहित्य घोषणापत्र २०१२

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औं जन्मजयन्तीको अवसरमा १८ नोभेम्बर २०१२ मा लण्डनमा नेपाली साहित्य विकास परिषद् युके र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा संयुक्तरुपमा आयोजित “महाकवि लक्ष्मीप्रसाद देवकोटाः एक विश्वस्तरीय कवि” नामक विचार गोष्ठीका विशिष्ठ सहभागी प्राध्यापक माइकल हट, बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसे, कवि, कलाकार, समालोचक तथा साहित्यप्रेमीहरुको एक बृहत भेलाले ब्यापक छलफलपछि लण्डन साहित्य घोषणापत्र २०१२ जारी गरेको छ ।

 

१. नेपाली साहित्यको श्रीबृद्धिमा अभूतपूर्व योगदान पु¥याउनु भएका नेपाली साहित्यका ध्रुवतारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औं जयन्तीका अवसरमा मनिषिप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै देवकोटा निश्चित रुपमा विश्वस्तरीय कवि थिए भन्ने बारेमा भेला एकमतले सहमत भयो । महाकवि देवकोटाका रचनाहरुलाई विश्वका विभिन्न भाषामा अनुवाद गरी नेपाली साहित्यलाई विश्वस्तरमा चिनाउन अविलम्ब हरसंभव पहल गर्न संसारभरी छरीएर रहेका प्रवासी नेपालीहरु, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, साहित्यिक संघसंस्थाहरु तथा सम्बन्धित सबैमा यो भेला हार्दिक आव्हान गर्दछ ।

 

२. महाकवि देवकोटाका रचनाहरुलाई विश्वस्तरमा चिनाउन नेपाली साहित्य, नेपाली संस्कृति र नेपालीपनलाई विश्वस्तरमा चिनाउनु पनि हो । यसले नेपाली राष्ट्रियताको पहिचान र सुदृढिकरणमा पनि ठूलो योगदान पु¥याउने स्वतः स्पष्ट छ । यसैले महाकवि देवकोटाका रचनाहरुलाई अंग्रेजी लगायतका भाषाहरुमा अनुवाद गर्नका लागि सघाउन एउटा अन्तर्राष्ट्रिय कोष खडा गर्न वान्छनीय रहेको नेपाली साहित्य विकास परिषद् युके तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके ठान्दछन । यसकालागि आवश्यक पहल गर्न हामी काठमाडौंस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र लगायत अन्य संघसंसस्थालाइ अनुरोध गर्दछौं ।

 

३. स्वदेश तथा विदेश जहांसुकै बस्ने जुनसुकै भाषा, भेष र जातिका भएपनि सम्पुर्ण नेपालीका साझा कवि र साझा निधिका रुपमा महाकवि देवकोटाको पहिचान गरी उहांका रचना, विचार र जीवनबृत्तलाई आत्मसात गरी प्रचारप्रसार गर्न तन, मन र धनले कृतसंकल्पित हुन यो सभा सम्पूर्ण नेपाली समुदायमा हार्दिक आग्रह गर्दछ ।

 

४. महाकवि देवकोटाका कालजयी कृतिहरुमाथि थप अध्ययन तथा अनुसन्धान गर्न नेपाली तथा विदेशी विद्यार्थी, अनुसन्धानकर्ता तथा विद्धानहरुलाई प्रेरित गर्न एवम् आवश्यक सहयोग पु¥याउन यो भेला नेपाल सरकार लगायत सम्बन्धित सबैमा आग्रह गर्दछ ।

 

५. खासगरी विदेशमा जन्मिएर हुर्किएका वा सानै उमेरमा आफ्ना अभिभावकसंग विदेश आई अध्ययन गरिरहेका बालवालिका तथा किशोर, किशोरीहरुले नेपाली भाषा, साहित्य पढ्न, लेख्न नसकिरहेका कारणले महाकवि देवकोटाजस्ता विश्वस्तरका नेपाली कवि साहित्यकारहरुको सिर्जनाको आस्वादन गर्न वञ्चित भएका कारणले नेपाली भाषा साहित्य तथा संस्कृतिको जगेर्ना गर्नका लागि पनि विदेशमा बसोबास गरीरहेको नेपाली समुदायले आफ्ना छोराछोरीका लागि नियमित रुपमा नेपाली भाषा कक्षा सञ्चालनका लागि व्यक्तिगत तथा संस्थागत रुपमा पहल गर्न यो भेला विश्वभरि फैलिएका नेपाली संघसंस्था तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदलाई हार्दिक आग्रह गर्दछ ।

 

१८ नोभेम्बर २०१२

लण्डन ।

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam